म्याग्दीमा ‘दोवा-सोवाङ-चिमखोला’ नयाँ पदमार्ग पहिचान : ६ दिनको पदयात्रा गर्न सकिने
काठमाडौँ, असार २९ । म्याग्दी जिल्लाको पर्यटकीय सम्भावनालाई थप विस्तार गर्दै अन्नपूर्ण गाउँपालिका १ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका ७ चिमखोला जोड्ने नयाँ पदमार्ग पहिचान गरिएको छ । पर्यटन विभागको सहयोग तथा सम्बन्धित वडा कार्यालयहरूको समन्वयमा यस पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका सम्पर्क कार्यालय प्रतिनिधि चित्र तिलिजा पुनका अनुसार पोखरालाई केन्द्र मानेर दोवा, सोवाङधुरी र चिमखोला हुँदै पुनः पोखरा फर्कन मिल्ने गरी ६ दिनको पदयात्रा मार्ग तय गरिएको छ । पदमार्गको वर्तमान अवस्था र आवश्यक भौतिक पूर्वाधारका विषयमा स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन पर्यटन विभागमा बुझाइसकिएको छ । साथै, धवलागिरि गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटन जोड्ने अर्को नयाँ पदमार्गको पनि सम्भाव्यता अध्ययन गरिएको छ ।
पूर्वाधार निर्माण र साझेदारी
परापूर्व कालमा गोठालाहरूले पशुगोठ लेक बेँसी गराउन प्रयोग गर्ने पुरानो गोरेटोलाई नै पदमार्गको रूपमा विकास गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिका र मणिबराह युवा क्लबको साझेदारीमा यस वर्ष दोवा खण्डको पातलखर्क, देउरालीडाडाँ हुँदै हल्टुडे क्षेत्रसम्म ४ किलोमिटर ६०० मिटर पदमार्ग निर्माण भइसकेको छ ।
यस आयोजनाका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपियाँ विनियोजन गरेको छ भने मणिबाराही युवा क्लबले ४ लाख २५ हजार ७६५ रुपियाँ आर्थिक सहयोग गरेको छ । साथै, स्थानीय बासिन्दाले १ लाख २४ हजार रुपियाँ बराबरको श्रमदान गरेका छन् ।
पदमार्गका विशेषता र प्राकृतिक सौन्दर्य
पदमार्गको मुख्य आकर्षण ३ हजार ८४० मिटरको उचाइमा रहेको सोवाङधुरी हो । चिमखोलाका स्थानीय अभियन्ता तारा गर्बुजाका अनुसार सोवाङधुरीबाट संसारकै सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मि.) को फेददेखि चुचुरोसम्मको मनोरम दृश्य स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ ।
धवलागिरि आइसफल पदमार्गको सहायक मार्गका रूपमा रहेको यस क्षेत्रबाट गुर्जा, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु लगायतका हिमशृङ्खलाहरू देखिन्छन् । यसका साथै बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा र म्याग्दी तथा पर्वतका ग्रामीण बस्तीहरूको दृश्यावलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरिएको छ ।
बेनी-जोमसोम सडक विस्तारसँगै पुराना पदमार्गहरू संकटमा परिरहेका बेला स्थानीय सरकार र समुदायको सक्रियतामा पहिचान गरिएका यस्ता सहायक पदमार्गले म्याग्दीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ ।