हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ‘भुक्तानी’ लिने : राष्ट्रपति ट्रम्प

काठमाडौँ, असार २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्मुज जलडमरूमध्य’ (हर्मुज जलमार्ग) को सुरक्षा गरेवापत संयुक्त राज्य अमेरिकाले अब धनी राष्ट्रहरूबाट ठूलो रकम क्षतिपूर्ति पाउने दाबी गर्नुभएको छ ।

सोमबार ‘फक्स एन्ड फ्रेन्ड्स’ टेलिभिजन कार्यक्रमलाई दिइएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिका अब हर्मुज जलमार्गको मुख्य संरक्षक बन्ने बताउनुभयो । उहाँले विगतमा अमेरिकाले कुनै शुल्क नलिई यस क्षेत्रको रक्षा गर्दै आएको भए पनि अब भने त्यसो नहुने स्पष्ट पार्नुभयो ।

‘हामी हर्मुज जलडमरूमध्यको संरक्षक बन्नेछौँ ।’ राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘अमेरिकाले अहिलेसम्म निःशुल्क रूपमा यसको सुरक्षा गर्दै आएको थियो, तर अब धनी राष्ट्रहरूले यसवापत हामीलाई क्षतिपूर्ति तिर्नुपर्नेछ । हाम्रा मानिसहरूलाई जोखिममा राखेर गरिने सुरक्षाका लागि हामी ठूलो रकम लिनेछौँ ।’

यसैबीच, इरानसँगको वार्ताप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले इरानी वार्ताकारहरूले अन्तिम समयमा आएर सहमति उल्लङ्घन गरेको आरोप लगाउनुभयो । सप्ताहन्तमा भएको ११ घण्टा लामो गहन छलफलपछि सहमति भएका बुँदाहरूमा इरानी पक्षले फेरि परिवर्तन खोजेको उहाँको दाबी छ । ट्रम्पले भन्नुभयो, ‘बैठक सकिएर बाहिर निस्किएपछि उनीहरूले फोन गरेर केही कुरा फेर्नुपर्ने बताए, तर कस्तो परिवर्तन हो भन्ने स्पष्ट पारेनन् ।’

मध्यपूर्वमा बढ्दो तनावका बीच ऊर्जा व्यापारको यो महत्वपूर्ण मार्ग अहिले वासिङ्टन र तेहरानबीच मुख्य विवादको केन्द्र बनेको छ । इरानको शक्तिशाली ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर’ ले हर्मुज जलमार्ग बन्द गरिएको दाबी गरे तापनि अमेरिकाले भने यो मार्ग अझै यातायातका लागि खुला रहेको र इरानको नियन्त्रणमा नरहेको जिकिर गरेको छ ।

तनावलाई मत्थर पार्न इरानले कतार, पाकिस्तान र ओमानका मध्यस्थकर्ताहरूसँग परामर्श गरिरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ । विश्वको ऊर्जा ढुवानीमा रणनीतिक महत्व राख्ने यस जलमार्गको नियन्त्रण र सुरक्षालाई लिएर विश्व समुदायले चासोका साथ हेरिरहेको छ ।