कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो : नरहरिनाथ गाउँपालिका उच्च जोखिममा

काठमाडौँ, असार २९ । कालिकोट जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । जिल्लास्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितको यो सङ्ख्या दर्ता भएको हो ।

कुल ७५ जना सङ्क्रमितमध्ये १८ जना अन्य जिल्लाबाट बसाइँ सरेर कालिकोट आएका व्यक्तिहरू रहेका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार कालिकोटका विभिन्न स्थानीय तहमध्ये नरहरिनाथ गाउँपालिकामा सबैभन्दा धेरै सङ्क्रमित फेला परेका छन् ।

स्थानीय तहअनुसारको विवरण
तथ्याङ्क अनुसार नरहरिनाथ गाउँपालिकामा मात्रै ३२ जना सङ्क्रमित छन् । जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका रहेका छन् । खाँडाचक्र नगरपालिकामा  १० जना, सान्नीत्रिवेणी गाउँपालिकामा  ४ जना, तिलागुफा नगरपालिकामा  ३ जना, पलाँता गाउँपालिकामा  ३ जना, रासकोट नगरपालिकामा  २ जना, शुभकालिका गाउँपालिकामा  २ जना र पचालझरना गाउँपालिकामा  १ जना सङ्क्रमित छन् ।

एआरटी सेन्टरका फोकल पर्सन शाहीका अनुसार सङ्क्रमितहरूका लागि जिल्लामै निःशुल्क एआरटी सेवा र औषधिको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, ‘समयमै स्वास्थ्य परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य राख्न र आयु लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्छ।’

जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै जानुले समुदायस्तरमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ । स्वास्थ्य कार्यालयले सुरक्षित यौन व्यवहार, नियमित रगत परीक्षण र सङ्क्रमितप्रति हुने सामाजिक विभेद अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । सङ्क्रमितहरूलाई समाजमा सम्मानपूर्वक जिउने वातावरण निर्माण गर्नु नै अहिलेको मुख्य चुनौती रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।