बक्स अफिस रिपोर्ट : ‘लालीबजार’ को व्यापार आक्रामक, ‘जाँड’ को कमजोर
काठमाडौँ, असार २९ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाली चलचित्र ‘लालीबजार’ ले बक्स अफिसमा उच्च सफलता हासिल गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यस अवधिमा ‘लालीबजार’ ले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँको सानदार व्यापार गर्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।
बोर्डको ‘सिनेपा २ बक्स अफिस’ प्रणालीमार्फत २८ गते आइतबार साँझसम्मको प्राप्त विवरणअनुसार, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायतका कलाकार अभिनित यस चलचित्रले दर्शकको उल्लेख्य साथ पाएको देखिएको छ ।
यसको ठीक विपरीत, राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ भने यस वर्षको पहिलो तीन महिनामा सबैभन्दा कम आम्दानी गर्ने चलचित्र बनेको छ । सानबी खतिवडा, पदम गुरुङ र रमेश उप्रेती लगायतको अभिनय रहेको यस चलचित्रले जम्मा १ लाख २६ हजार रुपैयाँ मात्र संकलन गर्न सक्यो ।
अन्य चलचित्रहरूको व्यापारिक अवस्थालाई हेर्दा, जेठ १५ गतेदेखि प्रदर्शनमा आएको जोन योञ्जन निर्देशित चलचित्र ‘रोल नम्बर १’ ले १ करोड ७७ लाख ६ हजार ५८३ रुपियाँको सन्तोषजनक व्यापार गरेको छ । यस चलचित्रमा मुकुन भुसाल र सुशाङ्क मैनाली लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
त्यस्तै, असार ५ गतेबाट प्रदर्शन सुरु भएको हास्य कलाकार जीतु नेपालको निर्माण तथा अभिनय रहेको चलचित्र ‘आइएम जितबहादुर’ ले भने घरेलु बजारमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । वर्षा राउत र प्रियंका कार्की समेतको अभिनय रहेको यस चलचित्रले समीक्षा अवधिमा ३१ लाख ३६ हजार ११२ रुपैयाँ मात्र आर्जन गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
चलचित्र विकास बोर्डले पारदर्शी व्यवसायिक वातावरण निर्माणका लागि प्रत्येक सोमबार बक्स अफिसको आधिकारिक विवरण सार्वजनिक गर्ने गरेको छ ।