हर्मुज जलमार्गको रक्षा गरेबापत धनी राष्ट्रले पैसा तिर्नुपर्छ : राष्ट्रपति ट्रम्प

 

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य (हर्मुज जलमार्ग) को सुरक्षाका लागि अमेरिकाले अब ‘भुक्तानी’ लिने घोषणा गर्नुभएको छ । सोमबार ‘फक्स एन्ड फ्रेन्ड्स’ सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले अब यस क्षेत्रको रक्षा ‘सित्तैमा’ नगर्ने स्पष्ट पार्नुभयो ।

ट्रम्पले भन्नुभयो, “हामी हर्मुज जलमार्गको संरक्षक बन्नेछौँ । अमेरिकाले लामो समयदेखि यसको रक्षा गर्दै आएको छ, तर अब धनी राष्ट्रहरूबाट यसको क्षतिपूर्ति लिइनेछ । हाम्रा मानिसहरूलाई जोखिममा राखेर गरिने यो सुरक्षा कार्यका लागि हामी ठूलो रकम लिनेछौँ ।”

वार्तामा इरानको दोहोरो चरित्रको आरोप
सोही अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले इरानी वार्ताकारहरूको रणनीतिप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभयो । सप्ताहन्तमा भएको ११ घण्टा लामो घनीभूत छलफलमा सबै कुरामा सहमति भइसकेको भए पनि पछि इरानले एकाएक सर्तहरू परिवर्तन गर्न खोजेको उहाँको आरोप छ । “उनीहरू कोठाबाट बाहिर निस्केपछि फोन गरेर केही परिवर्तन गर्नुपर्ने बताए, तर कस्तो परिवर्तन भन्ने खुलाएनन्,” ट्रम्पले भन्नुभयो ।

नियन्त्रणका लागि होडबाजी
ऊर्जा व्यापारको प्रमुख मार्ग मानिने हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर वासिङ्टन र तेहरानबीच विवाद चरम अवस्थामा पुगेको छ । इरानको शक्तिशाली ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर’ ले हर्मुज जलमार्ग ‘बन्द’ गरिएको दाबी गरेको छ । यद्यपि, अमेरिकाले भने यो दाबीलाई खारेज गर्दै समुद्री यातायात खुला रहेको र इरानको नियन्त्रणमा नरहेको दाबी गरेको छ ।

कुटनीतिक पहल जारी
क्षेत्रीय तनाव बढ्दै जाँदा इरानको परराष्ट्र मन्त्रालयले भने युद्ध रोक्नका लागि कुटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ताका अनुसार सरकारले कतार, पाकिस्तान र ओमानका मध्यस्थकर्ताहरूसँग निरन्तर संवाद गरिरहेको छ ।

गत अप्रिलको युद्धविरामपछि अमेरिका र इरानबीच देखिएको यो सबैभन्दा ठूलो तनाव हो, जसले विश्वको ऊर्जा आपूर्ति र समुद्री ढुवानीमा गम्भीर असर पार्ने आशङ्का उब्जाएको छ ।