बजार अनुगमनमा ढुसी परेको कोकाकाेला भेटिएपछि महानगरले तिरायाे डेढलाख
काठमाडौं, १० भदाै । काठमाडौं महानगरपालिकाले पछिल्लो समय गरेकाे बजार अनुगमनमा ढुसी परेको कोकाकाेला भेटिएपछि डेढलाख रूपैयाँ जरिवाना तिराएकाे छ ।
शुक्रबार महानगरको गुणस्तर परीक्षण विभागको टोलीले अनुगमनको क्रममा कालिञ्चोक ट्रेडिङमा ढुसी परेको कोकाकाेलाको बोतल भेटिएपछि महानगरले डेढलाख रूपैयाँ जरिवाना गरेकाे हाे।
महानगरकाे बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवाना गरिएको पत्रमा उल्लेख छ । महानगरले जरिवाना ७ दिन भित्र तिर्न भनिएको छ ।
‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ ।
गत साउन २८ गते बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपमेयर डंगोलले खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थको गुणस्तर, तरकारी र फलफूलको बजारमा निगरानी बढाउन निर्देशन दिएकी थिइन् ।