तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण

तनहुँ, २७ भदौ । तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

तनहुँका विभिन्न स्थानमा साउन महिनायता सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

अधिकारीले डेङ्गु सङ्क्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दमौली अस्पतालमा डेङ्गु परीक्षणका लागि किट पर्याप्त मात्रामा छ ।”

गत वर्ष जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सयभन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताउनुभयो ।

आजभोलि डेङ्गु ज्वरो नेपालका विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुका लक्षण हुन् ।