रिगलको आममाफीमा विश्व–गगनको असन्तुष्टि

काठमाडौँ, ८ असोज । बाँकेका योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएको विषयमा नेपाली कांग्रेसका महामन्त्री द्वयले असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँहरुले सरकारको उक्त निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको उहाँहरुको भनाई थियो । चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ‘रिगल’ भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।

तरूण दलका नेतासमेत रहेका उनलाई आममाफी दिएपछि महामन्त्री द्वयको असन्तुष्टि बाहिर आएको हो । ‘सरकारको कामले गर्दा राष्ट्रपति संस्थालाई आलोचित गर्दा मानिसमा रहेको वितृष्णा बढाएर जान्छ,’ शर्माले भन्नुभयो, ‘सरकार र पार्टीले यसतर्फ ध्यान दिनुपर्छ ।’

अर्का महामन्त्री थापाले पनि पार्टीमा संलग्न जो–कोही अपराधमा जोडिए त्यसको भारी पार्टीले नबोक्ने बताउनुभयो । ‘राष्ट्रपतिजीले माफी दिएको विषय अहिले चर्चामा छ। सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो,’ उहाँले भन्नुभयो, ‘कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी कांग्रेसमाथि आइपरेको छ। तर हामीलाई त केही पनि थाहा छैन। किन आममाफी दिइयो पनि थाहा छैन।’