‘रातो अक्षर कालो अक्षर’ नामक नाटक प्रस्तुत गर्दै अनेरास्ववियु

काठमाडौं, असोज ११ । अनेरास्ववियुले विद्यार्थी आन्दोलनको खास बस्तुस्थिति, शिक्षामा भइरहेको नीजिकरण र शैक्षिक माफियाहरुको चलखेलबारे ‘रातो अक्षर कालो अक्षर’ नामक नाटक प्रस्तुत गर्ने भएको छ ।

अनेरास्ववियुले नाटकमार्फत आजको शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रमबजारमा बिद्यार्थी बनेर युवाहरुको विदेशिनु पर्ने बाध्यता, विद्यार्थी आन्दोलनको आफैभित्रको समस्या, युवाहरुको विद्रोह र विभिन्न मुद्दाहरुलाई रंगमन्चमाार्फत देखाउने प्रयास गरेको उल्लेख गरेको छ ।

‘तपाईहरु विश्वास गर्नुस, यो नाटक नाटक मात्र नभएर हाम्रो आन्दोलन पनि हो । हाम्रो आजको यथार्थ पनि हो,’ अनेरास्ववियुका अध्यक्ष समिक बडालले भन्नुभयो, ‘नाटकले आजको राज्यसत्ता र प्रणालीलाई बारम्बार प्रश्न गरिरहन्छ । नाटकका आफ्नै समस्या र सीमितता हुने भएकाले, हामीले सबै बिषयहरुलाई समेट्न चाहेर पनि समेट्न नसकेको र आन्दोलन गर्नुपर्ने अरु पनि धेरै मुदुदाहरु भएको र ती मुद्दाहरुमा अनेरास्ववियुले आफ्नो उपस्थिति जनाउदै जाने बारे पनि प्रष्ट पार्न चाहन्छौ । तर त्यसो भन्दैगर्दा शिक्षा यी सबै मुद्दा र समस्याहरुको जग हो भन्ने कुरामा भने हामी सचेत हुदै हामीले शिक्षा प्रणालीका बेथितिबारे बोल्ने निर्णय प्रमुख रुपमा लिएको बारे पनि तपाईहरुलाई अवगत गराउन चाहन्छौं ।’

नाटकको लेखन आर.के रोमसले गर्नुभएको हो । नाटकको परिकल्पनाकार समिक बढाल र निर्देशक दिलिप खड्का हुनुहुन्छ । नाटक असोज १७ देखि २७ गतेसम्म शिल्पी थिएटर गोठाले नाटकघर बत्तिस पुतलीमा मञ्चन हुनेछ ।