संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस चारदिने भ्रमणका क्रममा कात्तिक १२ गते नेपाल आउँदै
काठमाडौं, १० कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै हुनुहुन्छ ।
उहाँ नेपालको औपचारिक भ्रमणमा आउन लाग्नु भएको हो । यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेको भए पनि प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भई कात्तिक १२ गतेदेखि हुन लागेको हाे ।
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने तथा जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ ।
यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गर्नुभएको थियो । महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहनुभएका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत हुनुहुन्छ ।
सन १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुनेछ । यसैगरी पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उहाँले भेटघाट गर्नुहुने कार्यक्रम छ ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।