बेलिङ्घम चम्किएपछि नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
मियामी । जुड बेलिङ्घमको सानदार प्रदर्शनको मद्दतले नर्वेमाथि पुनरागमन जित निकाल्दै इङ्ल्यान्ड फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अमेरिकाको मियामीमा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सन् २०१८ पछि पहिलो पटक अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
इङ्ल्यान्डको जितमा दुवै गोल स्टार मिडफिल्डर जुड बेलिङ्घमले गरे । मियामीको अत्यधिक गर्मी र आर्द्रताका बीच भएको खेलमा सुरुवाती अग्रता भने नर्वेले लिएको थियो । खेलको सुरुवातमै आन्द्रियास स्जेल्ड्रपले गोल गर्दै नर्वेलाई स्तब्धपूर्ण अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्त्यतिर बेलिङ्घमले एन्थोनी गोर्डनको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याए । यसअघि अन्तिम १६ मा मेक्सिकोविरुद्ध पनि उनले दुई गोल गरेका थिए ।
दोस्रो हाफमा नर्वेको एउटा गोललाई ‘भिडियो असिस्टेन्ट रेफ्री’ (VAR) ले मान्यता दिएन । अर्लिङ हालान्डले गोल हुनुअघि फाउल गरेको भन्दै रेफ्रीले उक्त गोल रद्द गरिदिएका थिए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा नर्वेका गोलकिपर ओरजान निल्यान्डको गल्तीको फाइदा उठाउँदै बेलिङ्घमले निर्णायक गोल गरे । मोर्गन रोजर्सको प्रहारलाई निल्यान्डले नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा बेलिङ्घमले बललाई जाली चुमाएका थिए । यो उनको यस प्रतियोगिताको छैटौँ गोल हो ।
नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डका लागि भने यो खेल बिर्सनलायक रह्यो । उनको लगातार १४ खेलको गोल गर्ने कीर्तिमानमा पूर्णविराम लागेको छ । थकित देखिएका हालान्डलाई अतिरिक्त समयको बीचमै मैदानबाट बाहिर निकालिएको थियो ।
जितका बाबजुद इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आफ्नो टोलीको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले खेलपछि भने, “हामी आज भाग्यमानी रह्यौँ । नतिजा उत्कृष्ट छ, हामी अन्तिम चारमा पुगेका छौँ, तर प्रदर्शन भने सोचेजस्तो भएन । हामीले धेरै प्राविधिक गल्तीहरू गर्यौँ, सेमिफाइनलमा हामीले खेल सुधार्नुपर्नेछ ।”
इङ्ल्यान्डले अब फाइनल प्रवेशका लागि बुधबार अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्यान्ड ६० वर्षपछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ ।