हाम्रो पालिकामा मात्रै ५० बढीको मानवीय क्षति भएको छ, हामी निरन्तर उद्धारमा छौँः मेयर घर्ती

काठमाडौं, १८ कात्तिक । जाजरकोट केन्द्रविन्दु बनाएर गएराती भएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धारमा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती निरन्तर खटिरहनु भएको छ ।

पछिल्लो विवरण अनुसार भेरी नगरपालिकामा मात्रै ५० बढीको मृत्यु भएको र त्यो भन्दा बढी संख्यामा घाइते भएको विवरण सार्वजनिक भैसकेका छन् । एकीकृत बस्ती नभएका कारण मानवीय क्षतिको विवरण प्राप्त गर्न अहिले पनि कठिन भैरहेको मेयर घर्तीको भनाई छ । घर्तीसँग त्यहाँको पहिल्लो विवरणबारे मैत्रिन्युजले गरेको टेलिफोन संवादः

अहिलेसम्मको अवस्था हेर्दा भेरी नगरपालिकामा मात्रै १ सयको हाराहारीमा मानवीय क्षति हुनसक्ने अनुमान छ । भेरीनगरपालिकासँगै अन्य पालिकामा पनि मानवीय क्षति भएका विवरणहरु आइरहेका छन् ।

पछिल्लो विवरण अनुसार ५० बढीको मानवीय क्षतिको विवरण आइसकेको छ । घाइतेहरुको संख्या पनि अध्याधिक रहेको छ । जाजरकोट जिल्लाका आफैमा दुर्गम जिल्ला हो भने यसका पालिकाहरु पनि अति दुर्गम छन् । एकीकृत बस्ती नभएकाले मानवीय क्षतिको विवरण संकलनका लागि समेत कठिन भैरहेको छ । हामी अहिले उद्धार कार्यमा खटिरहेका छौँ । धेरै घाइतेहरुलाई नेपालगञ्जलगायत पठाउने काम भैरहेको छ भने सामान्य घाइतहरुलाई सम्भव भएसम्म उपचार गराउने कार्य पनि भैरहेको छ ।
भूकम्पपछिको मानवीय र भौतिक क्षतिका कारण यहाँको अवस्था निकै कारुणिक बनेको छ ।

अप्रिय घटनाका कारण आम मानिसमा डर, त्रास र भय फैलिएको छ । हामी सकेसम्म उहाँहरुलाई शान्त बनाउने, उद्दारमा खट्ने गरिरहेका छौँ । हामीले स्थानीय सरकारका नताले प्रदेश र केन्द्र सरकारसँग पनि राहत र उद्धारका लागि सहयोग मागेका छौँ । आजै मात्रै प्रधानमन्त्री यहाँ आएर केही घाइतेहरुलाई भेटेर र यहाँको अवस्था बुझेर फर्किनु भएको छ । प्रधानमन्त्री नै यहाँ आएपछि केन्द्रबाट पनि प्राथमिकताका साथ यहाँको कारुणिक अवस्थालाई सहजतातर्फ लैजान सकारात्मक पहल होला भन्ने अपेक्षा गरेका छौँ ।

अहिले तत्कालका लागि हामी प्राथमिक तहको उपचार र उद्धारमा बढी केन्द्रित भएका छौँ । अहिलेसम्मको अवस्था हेर्दा यहाँ मृतकसँगै घाइतेहरुको पनि संख्या बढ्ने देखिएको छ । घाइतेहरुलाई उपचार कसरी गर्ने ? कहाँ राख्ने ? कसरी राहत वितरण गर्ने ? भन्ने जस्ता जटिल अवस्था अब आउने निश्चित छ ।

यस्तो अवस्थामा स्थानीय तह, प्रदेश र केन्द्र सरकारले सहकार्य, समन्वय र सहअस्तित्वको भावले काम गर्नुपर्ने अवस्था छ । हामीले तुरुन्तै भेरी नगरपालिकाको विपद् व्यवस्थापनको बैठक राखेर थप योजना बनाउँदै छौँ । त्योसँगै जिल्लाको विपद् व्यवस्थापनले पनि आ–आफ्नो ठाउँबाट काम अघि बढाएको छ ।

स्थानीय तह, संघ र प्रदेशको बजेट यो विपद्का बेला प्रभावित क्षेत्रहरुमा केन्द्रित गरेर अघि बढ्न आग्रह गर्दछु । जतिसक्दो छिटो घाइतेको उद्धार र राहतमा केन्द्रित हुन पनि म सबैलाई आग्रह गर्दछु । म आफैँ पनि अहिले जाजरकोटको भेरी नगरपालिका–३ मा केन्द्रित भएको छु ।