आगामी सोमवारदेखि नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुँदै, अब आपूर्ति हुने राहदानी पहिलाको भन्दा गुणस्तरीय पनि सस्तो पनि

काठमाडौं, असार २७ । आगामी सोमवारदेखि नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुने भएको छ । अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नयाँ कम्पनीलाई ठेक्का दिइएको भएपनि कानूनी र प्राविधिक अड्चनका कारण कार्यान्वयनमा ढिलाइ भए पनि अब सोमबारबाट भने नयाँ कम्पनी मार्फत राहदानी छपाई सुरु हुने राहदानी विभागले जानकारी दिएको छ । विभागका अनुसार नयाँ राहदानी छपाइका लागि ९० प्रतिशत भन्दा बढी तयारी पूरा भएको छ ।

करिव एक करोड नेपाली नागरिकको वैयक्तिक विवरण (डिजिटल डेटा) नयाँ प्रणालीमा स्थानान्तरण गर्नुपर्ने भएकाले केही प्राविधिक काम बाँकी रहेको र अरु सबै प्रक्रिया करिब तयारी अवस्थामा रहेको विभागले जानकारी दिएको छ । अहिले केही दिन सेवा अवरुद्ध गरी प्राविधिक कामलाई पूर्णता दिने प्रयास भैरहेको छ । राहदानी आपूर्तिका लागि खरिद प्रक्रियामा प्याकेज १ अन्तर्गत म्युल्बाउअर आइडी सर्भिसेसले पासपोर्टको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमनेट सिस्टमको ठेक्का पाएको थियो । प्याकेज २ मा भेरीडोसले पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको थियो ।

यी कम्पनीले ३४ तथा ६४ पृष्ठ दुबै राहदानीको मुल्य करिब अमेरिकी डलर ८।६२ मा त्यो पनि उच्च गुणस्तर एवं अन्तराष्ट्रिय मापदण्ड अनुसारको राहदानी खरिद गर्ने गरी सम्झौता गरेका थिए । तर, लामो समयदेखि एकलौटी गर्दै आएको आइडिमियाले लगातार ठेक्का हत्याउन नपाएपछिको शक्तिसमूहको प्रयोगमा शक्तिकेन्द्रलाई प्रभावमा पारे एकपछि अर्को लफडा गर्न थालेपछि समयमा राहादानी आपूर्तिमा कठिनाई भई हाहाकार हुने अवस्था आउने हो कि भन्ने आशंका पैदा भएको थियो ।

तर, अब ती सबै समस्या समाधान गर्दै ठेक्का पाएका जर्मन कम्पनीले इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विदेशी नियोगका सफ्टवेयर अपडेटदेखि डाटा इन्ट्रीलगायतको काम पनि करिब सम्पन्न गर्न लागेको छ । यहि असार २९ बाट नयाँ राहदानी उपलब्ध गराउने गरी काम द्रुत गतिका साथ अघि बढिरहेको विभागका कर्मचारीहरुले जानकारी दिएका छन् ।

लामो समयदेखि बायोमेट्रिक राहदानी खरिद ठेक्काको जिम्मा लिएको आइडिमियाले प्रति राहदानी ३४ पृष्ठको अमेरिकी डलर १०.४५ पछि भेरियसन आदेशबाट अमेरिकी डलर १०.१३ मा आपूर्ति गर्दै आएको थियो । ६४ पृष्ठको राहदानी खरिद गर्दा अमेरिकी डलर १०.९५ थियो । तर, सबै प्रक्रिया पुर्याएर सन् २०२५ जुन ६ मा राहदानी विभागले जर्मनीका दुई कम्पनी भेरिडोस जीएमबीएच र म्युहलबाउरलाई ई–पासपोर्टको ठेक्का दिएको थियो ।

यी कम्पनीले ३४ तथा ६४ पृष्ठ दुबै राहदानीको मुल्य करिब अमेरिकी डलर ८.६२ मा त्यो पनि उच्च गुणस्तर एवं अन्तराष्ट्रिय मापदण्ड अनुसारको राहदानी खरिद गर्ने गरी सम्झौता गरेका थिए । अब नयाँ प्रक्रियाबाट राहदानी छाप्न थालेपछि राज्यको समेत करौडौँ रकम बचत हुने बुझिएको छ ।