छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरेर मनाइँदै
काठमाडाैं, ३ मंसिर । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरेर मनाइँदै छ ।
देशभर छठ पर्व मनाइने बर्तालुले आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र रातभर जाग्राम बसेर भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।
छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
तराई मधेसका खोला, नदीसँगै हाट, बजार, सडक र गल्ली छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।