एनसेलको शेयर खरिद अनियमिततामा सरकारको संलग्नताः ओली
तेह्रथुम, २८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाउनुभएको छ । बिहीवार तेह्रथुममा समृद्धिका लागि संकल्प यात्रामा आयोजित आमसभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। ‘सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यसमा सरकारको संलग्नता नहुने कुरै भएन ।’
उहाँले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गर्नुभएको छ । उहाँले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताउनुभयो । ‘खर्बौंको कारोबार, खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ,’ उहाँले भन्नुभयो, ‘सयौँ गुणा फरक छ यसमा ।’
अध्यक्ष ओलीले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताउनुभयो । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको उहाँको भनाइ छ । उहााले नागरिकहरुले सरकारको संलग्नत छ भने पनि सरकार बोल्न नसकेको बताउनुभयो ।