गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराजको दाबी, सभामुख र मनाङेले गरे समर्थन
कास्की, २५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गर्नुभएकाे छ ।
अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाउनुभएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिनुभयो ।
नेता अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको उहाँको भनाइ छ । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।
गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो ।
समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिनुभएको थियो ।