सभामुखप्रति लक्षित अभिव्यक्तिलाई लिएर संसद्मा हंगामा: प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, २४ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनासाथ सत्तापक्ष र प्रतिपक्षबीच उत्पन्न चर्काचर्कीका कारण अवरुद्ध भएको छ। सभामुख डोलप्रसाद अर्यालको आसनप्रति लक्षित गरी प्रयोग गरिएको शब्द र त्यसपछि उत्पन्न विवादलाई लिएर सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो।

बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सोही क्रममा एमाले सांसद राजेन्द्रकुमार राईले बोल्न सुरु गरेपछि सभामुखले उनलाई आसन ग्रहण गर्न निर्देशन दिनुभयो। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद टीका सङ्ग्रौला (ज्वाला) ले सांसद राईको अभिव्यक्तिले सभामुखको गरिमामाथि चोट पुर्‍याएको भन्दै ‘नियमापत्ति’ गर्नुभयो।

विवाद बढ्दै गएपछि सांसद राईले माफी माग्ने सन्देश पठाएका थिए, जसका आधारमा सभामुखले उनलाई पुनः बोल्न समय दिनुभएको थियो। तर, त्यसपछि पनि विवादले नयाँ स्वरूप लिएपछि सदनको कामकारबाही अघि बढ्न नसक्ने देखिँदा सभामुखले बैठक स्थगित गर्ने निर्णय लिनुभयो।

बैठकको प्रारम्भमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको हालैको ‘सीमासम्बन्धी अभिव्यक्ति’ लाई लिएर कडा आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सांसद प्रमिलाकुमारी गच्छदारले पटक–पटक आवाज उठाउँदा पनि सरकारले संसद्लाई स्पष्ट जवाफ नदिएको र गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो। विपक्षीहरूले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने मागलाई प्रमुख एजेन्डा बनाएका छन्।