वामपन्थी शक्तिहरूबीच तत्काल पार्टी एकता हुँदैन, सहकार्य संभव छः ओली
काठमाडौं, २४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी शक्तिहरूबीच तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताउनु भएको छ ।
उहाँले पार्टीको एक कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले अहिले पार्टी एकता नभए पनि एमालेसँग सहकार्य गर्न वा पार्टीमा समाहित हुन चाहनेहरूलाई स्वागत गरिने उल्लेख गर्नुभयो । ‘पार्टी एकता हुँदैन। तर, मिल्न खोज्ने र पार्टीमा आउनेहरूलाई स्वागत छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति टिप्पणी गर्दै उहाँले प्रचण्ड अहिले प्रधानमन्त्री बालेन साहको समर्थनमा केन्द्रित रहेको आरोप लगाउनुभयो । ‘प्रचण्डचाहिँ बालेनजीको भक्तिगानमा लागेर उम्किन खोज्या छन्,’ ओलीको भनाइ थियो। एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्दै छ । कार्यदलले गरेको सुझाव संकलनसहित भोलि प्रतिवेदन लेखनका लागि बैठक बस्ने कार्यसूची छ ।