रौतहटमा जग्गा विवादले उग्र रूपलिँदा चक्कु प्रहार: एकको मृत्यु, बाबु-छोरा पक्राउ
रौतहट, २४ असार । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादले हिंसात्मक रूप लिँदा चक्कु प्रहारबाट ६० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । घटनामा मृतकका वृद्ध ससुरा समेत गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ईशनाथ नगरपालिका–१ बन्जरहा स्थायी घर भई लामो समयदेखि औरैयास्थित ससुराली घरमा बस्दै आएका वुटन साहको हत्या भएको हो । जग्गाको स्वामित्वलाई लिएर छिमेकीसँग भएको विवादका क्रममा साहको पिठ्युँमा चक्कु प्रहार गरिएको थियो । गम्भीर चोट लागेका साहलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइए पनि चिकित्सकहरूले मङ्गलबार राति उनलाई मृत घोषणा गरेका थिए ।
सोही आक्रमणमा परी मृतकका ८० वर्षीय ससुरा रामबहादुर साह पनि घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र हाल स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बाबु रामाऔतार साह रहेका छन् । उनीहरूमाथि ‘कर्तव्य ज्यान’ मुद्दा अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
स्थानीयका अनुसार दुई परिवारबीच जग्गाको विषयलाई लिएर लामो समयदेखि तीव्र विवाद र रिसिइबी चल्दै आएको थियो । सोही विवादले मङ्गलबार उग्र रूप लिँदा यो हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।