धादिङको थाक्रेमा आगलागीमा जलेर वृद्ध दम्पतीको मृत्यु

धादिङ, २० वैशाख । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक वृद्ध दम्पतीको आगलागीमा परेर मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।

“राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो”, प्रहरी उपरीक्षक केसीले भन्नुभयो ।

आगलागीबाट घरमा भएका अन्नपात र लत्ताकपडालगाएका सबै नष्ट भएको छ भने आगलागीबाट के कती क्षति भएकाे भन्ने यकिन नभएकाे प्रहरीले जनाएकाे छ ।