जन जनको मनमनमा बसेका मनमोहन र २५ औं स्मृति दिवस (भिडियो रिपोर्ट)
काठमाडौं, २ जेठ । २०५१ सालमा भएको मध्यावधि निर्वाचनबाट ८८ सिटसहित सबैभन्दा ठूलो दल बनेको तत्कालिन नेकपा (एमाले)ले त्यहि वर्ष अर्थात २०५१ सालमा विश्वमै निर्वाचनबाट पहिलो पटक कम्युनिष्ट पार्टीको सरकार गठन गर्ने अवसर प्राप्त गरेको थियो । हो, त्यहि सरकारको नेतृत्व गर्नुभएका मनमोहन अधिकारीले त्यतिबेला प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीको हैसियतमा ९ महिना शासनसत्ता सञ्चालन गर्नुभयो ।
नेकपा (एमाले)ले त्यतिबेला छोटो समय सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे पनि आफ्नो गाउँ आफैँ बनाउँ, वृद्धभत्तालगायतका लोकप्रिय कार्यक्रमको सुरुवात गरेर जनजनको मनमनमा बस्न सफल भएको थियो । नेकपा (एमाले)ले पहिलो पटक सरकारको नेतृत्व गरेको ३० वर्ष व्यथित भएको छ । अहिले पनि मुलुकमा कम्युनिष्टकै नेतृत्वमा सरकार सञ्चालन भैहरेको छ । यो ३० वर्षमा कोशी, बगमती, गण्डकी, कर्णाली र महाकालीमा करोडौँ घनमिटर पानी बग्यो । मनमोहनपछि १३ व्यक्तिले २४ भन्दा बढी पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे भने मनमोहनपछि मात्रै पाँच जना त कम्युनिष्ट प्रधानमन्त्री नै बने ।
३० वर्षमा २४ वढी सरकार फेरिए १३ वढी व्यक्ति प्रधानमन्त्री बने तर ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेको ‘बृद्धभत्ता कार्यक्रम’ हरेक सरकार फेरिदाँ पनि नफेरिएको लोकप्रिय कार्यक्रम बनिरह्यो । २०५१ सालमा मासिक रु १०० बाट सुरु भएको वृद्धभत्ता कार्यक्रम अहिले ४ हजार पुगेको छ ।
आफू प्रधानमन्त्री रहेका बेला लोकप्रिय कार्यक्रमको थालनी गरेर विश्वसामू नै कम्युनिष्ट नेतृत्वको सरकार जनताप्रति बढी उत्तरदायी हुन्छ भन्ने सन्देश दिनुभएका नेपालको वाम लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व अधिकारीको निधन भएको नै २५ वर्ष भएको छ अर्थात केही हप्ता अघि मात्रै मनमोहन स्मृति प्रतिष्ठानले उहाँको सम्झनामा २५ औँ स्मृति दिवसको आयोजना गरेको छ ।
२०५६ सालमा मनमोहनको निधन भएपछि उहाँको योगदानहरुलाई चिरस्थायी राख्न स्थापना भएको मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष विविधि कार्यक्रम गर्दै आएको छ ।
त्यति मात्रै होइन मनमोहन अधिकारीले थालनी गरेको जेष्ठ नागरिकलाई सम्मान गर्ने परम्परालाई जोगाइराख्न प्रतिष्ठानले २०५६ सालदेखि देश–दर्शन कार्यक्रमको आयोजना गर्दै आएको छ । २०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन हुनुभएका अधिकारीको सम्झनामा प्रतिष्ठानले २५ औँ स्मृति दिवसको अवसरमा सातौँ देश–दर्शन कार्यक्रमको आयोजना गर्यो ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा सातौँ देश–दर्शन कार्यक्रममा सहभागी बृद्धबृद्धालाई मनमोहन स्मृति प्रतिष्ठान परिसरबाट विदाई गरिएको थियो ।
विदाई कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै एमालेका अन्य नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाको सहयोगमा प्रकाशित मनमोहनको जीवनगाथा समेटिएको पुस्तकको समेत विमोचन गरिएको थियो ।