माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खुल्यो : मेसिनहरू हेलिकप्टरबाट लैजाने तयारी

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढीले थुनिएको सुरुङको मुख्य प्रवेशद्वार (टनेल इन्ट्री) खोल्न (ब्रेक–थ्रु) सफल भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरुङको मुख खुलेसँगै भित्र फसेका नागरिकहरूको खोजी तथा उद्धार कार्य औपचारिक रूपमा सुरु भएको छ । गएराति भोटेकोशी नदीमा पुनः पानीको सतह बढेर उद्धारमा केही अवरोध सिर्जना गरे पनि सुरक्षाकर्मीहरूको टोलीले अहोरात्र खटेर सुरुङसम्मको पहुँच मार्ग बनाउन सफल भएको हो ।

उद्धार कार्यलाई थप सशक्त बनाउन आवश्यक पर्ने स्काभेटर र डोजर जस्ता गह्रौँ उपकरणहरू नुवाकोटको बट्टार पुर्‍याइएको छ । सडक मार्ग अवरुद्ध भएकाले ती मेसिनहरूलाई बट्टारमा खण्ड-खण्ड (डिसमेन्टल) पारेर नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित आयोजनास्थलमा लैजाने तयारी भइरहेको सेनाले जनाएको छ ।

विपद् लगत्तैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा सक्रिय छ । सुरुङभित्र अझै कति मानिसहरू कुन अवस्थामा छन् भन्ने यकिन विवरण सङ्कलन भइरहेको छ । सुरक्षाकर्मीहरूले सुरुङभित्रको अवस्था बुझ्न र फसेकाहरूलाई बाहिर निकाल्न प्राविधिक सावधानी अपनाउँदै खोजी कार्यलाई तीव्रता दिएका छन् ।