भोटेकोशी बाढी पीडितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको घोषणा
काठमाडौँ, १४ भदौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३४ करोड रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र युएई एडको उच्चस्तरीय टोलीबिच आइतबार भएको भेटवार्तामा युएईले उक्त सहयोगको प्रतिबद्धता जनाएको हो ।
भेटका क्रममा प्राधिकरणका कार्यकारी प्रमुख डा. उप्रेतीले बाढी प्रभावित क्षेत्रमा सञ्चार र यातायात पूर्ण रूपमा विच्छेद भएको जानकारी दिँदै तत्काल आवश्यक पर्ने सामग्रीहरूको सूची युएई टोलीलाई बुझाउनुभएको थियो । प्राधिकरणले विशेषगरी अस्थायी पुल (बेली ब्रिज), पानी शुद्धीकरण उपकरण, सरसफाइ र स्वच्छता (हाइजिन) सामग्री, ठुलो परिवार अट्ने पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकी उपलब्ध गराउन आग्रह गरेको छ ।
प्राधिकरणको आवश्यकता र प्राथमिकताका आधारमा सामग्री तथा उपकरणहरू उपलब्ध गराउन युएई सरकार पूर्ण रूपमा तयार रहेको युएई एडका अधिकारीहरूले बताएका छन् । भेटमा युएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी र मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीको सहभागिता रहेको थियो ।
नेपाल र युएईबिच लामो समयदेखि श्रम, व्यापार र लगानीमा सहकार्य रहँदै आएकोमा यस मानवीय सहयोगले दुई देशबिचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । गत बुधबारको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा ठुलो जनधनको क्षति पुर्याएपछि मित्रराष्ट्रहरूबाट सहयोग आउने क्रम जारी छ ।