त्रिशूली थ्री–‘ए’ को सुरुङमा ‘केबल एक्सेस टनेल’ फेला,उद्धार टोली परिचालन
काठमाडौँ, १४ भदौ । भोटेकोशीको विनाशकारी बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाकाे तीन दिनदेखिको निरन्तर प्रयासपछि उद्धार टोलीले आइतबार ‘केबल एक्सेस टनेल’ फेला पारेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले नेपाली सेना, प्राधिकरणको टिम र सुरुङ विज्ञहरूको संयुक्त टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने उक्त सुरुङ भेट्टाएको पुष्टि गर्नुभयो ।
यो सुरुङ फेला परेसँगै अब उद्धार विज्ञहरूलाई भित्र पठाएर फसेकाहरूको अवस्था बुझ्ने र उनीहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु भएको छ । “यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ, त्यसैले अब उद्धार कार्य सहज हुनेछ,” प्रबन्ध निर्देशक श्रेष्ठले भन्नुभयो, “अक्सिजन छिराउने प्वाल हिजै पारेकाले भित्र फसेकाहरू सकुशल हुनेमा हामी पूर्ण आशावादी छौँ ।”
यसअघि उद्धार टोलीले सुरुङभित्र हावा र अक्सिजन पठाउन पाँचवटा विभिन्न स्थानमा ड्रिल (प्वाल) गरिसकेको थियो । उद्धार क्षेत्रमै खटिएका सांसद एवं सुरुङ विज्ञ श्रीराम न्यौपानेले टनेल भेटिएपछि उद्धारको कामले अब निर्णायक मोड लिएको बताउनुभयो । उहाँकै नेतृत्वमा प्राविधिक टोलीले सुरुङ छिचोल्ने काम गरिरहेको छ ।
प्राधिकरणका अनुसार बाढी आउँदा जमिनमुनि रहेको विद्युत् गृह (पावर हाउस) को ओभरहलिङ (मर्मत) कार्यमा करिब ४० देखि ४२ जना उच्च स्तरका प्राविधिक र विज्ञहरू खटिएका थिए । बाढीले सुरुङको मुख थुनिदिएपछि उनीहरू पाँच दिनदेखि भित्रै थुनिएका छन् ।
गत बुधबार बाढी आए पनि सडक अवरोध र भौगोलिक कठिनाइका कारण शुक्रबारदेखि मात्रै औपचारिक उद्धार कार्य सुरु हुन सकेको थियो ।