१६ औं योजनाको लक्ष्य : ५ वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने लक्ष्य

काठमाडौं, २ जेठ । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजना सार्वजनिक गरेको छ ।

आयोगले निकै महत्त्वाकाङ्क्षी लक्ष्य सहित बनाएकाे योजनामा अबको पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने लक्ष्य लिइएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले १६ औँ योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको हो। यस्तै ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ ।

देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य सहित आएको १६ औ योजनाले गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य लिएकाे छ ।

सक्रिय उमेरको जनसंख्या उच्च हुनु, प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्दै जानु जस्ता कारणले लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल हुने आयोगको भनाइ छ ।

यस्तै ९० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुर्‍याउने, ११ हजार ७ सय ६९ मेगावाट विद्युत् उत्पादन गर्ने लगायतका लक्ष्य राखिएको छ ।

सरकारकाे चालु आव ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भइसकेको छ ।

सरकारले हालसम्म १५ वटा योजना कार्यान्वयनमा लगेको छ त्यसमा अधिकांश योजनाको लक्ष्य पुरा भएको छैन । ५ वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना बनाएको सरकारले सोह्रौँ योजना पनि कार्यान्वयनमा आगामी आर्थिक वर्षदेखि लैजाँदैछ ।