सुनचाँदीको मूल्यमा उच्च वृद्धि: सुन तोलामा ९,३०० र चाँदी २६० रुपैयाँले बढ्यो
काठमाडौँ, ४ भदौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु २६० ले बढेको हो।
महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० निर्धारण गरिएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ तोकिएको छ।
हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ५१२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६७ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।