खोटाङको दिक्तेलमा ऐतिहासिक सार्वजनिक चौतारा मिचिएको विवाद सतहमा, सरकारी निकाय र अदालतमा उजुरी
खोटाङ, ४ भदौ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा गायब पारिएको र सार्वजनिक जग्गा अतिक्रमण गरिएको विवाद सतहमा आएको छ। यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला अदालतसम्म उजुरी तथा मुद्दा दर्ता भएका छन्।
मालपोत कार्यालय खोटाङको अभिलेखअनुसार कित्ता नम्बर २९६ मा रहेको सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा सार्वजनिक चौतारा र कित्ता नम्बर १११२ मा रहेको नौ आना दुई पैसा क्षेत्रफलको जग्गा सार्वजनिक ढुङ्गे धारा (मूलधारा) का नाममा दर्ता रहेको देखिन्छ। दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’का अनुसार स्थानीय नारायणकाजी श्रेष्ठले विसं २०७८ मा पक्की घर निर्माण गर्ने क्रममा चौतारा र वरपीपलको रूख हटाएर उक्त सार्वजनिक जग्गालाई आफ्नो निजी घरको आँगन बनाएका हुन्।
आफ्नो धार्मिक, सांस्कृतिक तथा परम्परागत संस्कार गर्ने महत्त्वपूर्ण स्थल मिचिएको भन्दै स्थानीय बासिन्दाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विसं २०८३ असार २९ र साउन ७ गते लिखित उजुरी दर्ता गराएका थिए। केन्द्रबाट निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले यस विषयमा आवश्यक अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाएको छ।
यता, जग्गा अतिक्रमणको आरोप लागेका नारायणकाजी श्रेष्ठले भने आफूले सार्वजनिक जग्गा नमिचेको र आफ्नो नाममा रहेको पाँच आना तीन पैसा एक दाम क्षेत्रफलभित्र मात्रै घर निर्माण गरेको दाबी गर्नुभएको छ। उहाँले आफ्नो जग्गामा घर बनाएर बस्दा पनि विपक्षीहरूले विनाकारण दुःख दिएको भन्दै गत साउन २१ गते जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गराएको जानकारी दिनुभयो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईका अनुसार दुई वर्षअघि परेको विवादसम्बन्धी निवेदनमाथि दुवै पक्षबीच छलफल गराई विसं २०८१ भदौ ७ गते निर्णय गरिएको थियो।
सो निर्णयअनुसार उक्त जग्गा दिक्तेल बजार सामाजिक गुठीले संरक्षण गर्ने र स्थानीय समुदायले आफ्नो परम्परागत काजकिरिया तथा नेवार समुदायको जात्रा विसर्जन गर्ने जस्ता सांस्कृतिक संस्कार गर्न पाउने अधिकार लिखित रूपमा दिइएको थियो। सोही निर्णयका आधारमा स्थानीयले हाल सो क्षेत्रमा आफ्ना सांस्कृतिक गतिविधि गर्दै आएका छन्।
