सुनको कोटा बढाउन व्यवसायीको माग
काठमाडौँ । सुनचाँदीको कोटा बढाउनुपर्ने माग गर्दै सुनचाँदी व्यवसायीहरु राष्ट्र बैंक पुगेका छन् । दैनिक रुपमा उपलब्ध गराइँदै आएको २० केजी सुनले बजारको माग धान्न नसकिने भन्दै व्यवसायीहरु दैनिक ३५ केजी सुन ल्याउन पाउनुपर्ने माग गर्दै राष्ट्र बैंक पुगेका हुन् ।
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार, उपाध्यक्ष माणिरत्न शाक्य र महासचिव धर्मसुन्दर बज्राचार्य तथा सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन लगायतको टोलीले राष्ट्र बैंक पुगेको यस्तो आग्र गरेको हो । ब्यवसायिहरुको आग्रहपछि राष्ट्र बैंकका अधिकारहिरुले यस बिषयमा अध्ययनगरी आबश्यक निर्णय लिने वताएका छन् ।
राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रमेश पोखरेलले अहिले तत्कालै बढाइहाल्ने अवस्थामा राष्ट्र बैंक नरहेको भएपनि यस बिषयमा आवश्यक अध्ययन गरि उचित निर्णय लिइने बताए । ‘हामीले व्यवसायीहरुलाई कोटा थप्नुको बलियो आधार बनाएर आउनुस् भनेका छौँ’ उनले भने ‘व्यवायीहरुको योजन आएप्छि त्यस आधारमा थप अध्ययन हुन्छ ।’
व्यवसायीहरुले माग गर्दैमा तत्काल कोटा बढाइहाल्न नसकीने भएकोले अध्ययन आवश्यक देखिएको उनको भनाई छ । यसअधि राष्ट्र बैंकले १५ केजीबाट कोटा वृद्धि गरी दैनिक २० केजी सुन ल्याउन पाउने व्यवस्था गरेको थियो । अहिले चाडवाड र सिजनका बेला दैनिक ५ केजी थपगरी २५ केजी सुनको आयात गर्ने ब्यवस्था राष्ट्र बैंकले गर्दै आएको छ ।
हाल नेपाली सुनचाँदी बजारमा दैनिक ३० देखि ३५ केजीको हाराहारीमा बजार माग रहेको व्यवसायीहरुले वताएका छन् । अहिले उपलब्ध कोटाले बजारको माग धान्न नसकेको भन्दै व्यवसायीहरु सुनको कोटा बढाउन राष्ट्र बैंक समक्षा आग्रह गरेका हुन् ।