सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गीको सङ्क्रमण पुष्टि

सोलुखुखुम्बु, २५ साउन । सोलुखुम्बुमा ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुग्नुभयो  ।

नमुना जाँच गर्दा उहाँलाई डेङ्गीको सङ्क्रमण पुष्टिभएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहनुभएको छ ।

सोलुखुखुम्बुमा पनि डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

एक सय ५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताउनुभयो । यसमा पुरुष १९ र महिला ८ छन् । उहाँले भन्नुभयो, “ सोतामाङमा सङ्क्रमित भएका सबै जसोको ‘ट्राभल हिष्ट्रि’ देखिएन, उनीहरु गाउँमै बस्दै आएका थिए तर ती व्यक्तिहरुलाई समेत सङ्क्रमण पुष्टि भएपछि सोलुमा पनि डेङ्गी फैलिएको पुष्टि भयो ।”

विशेष गरी डेङ्गी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताउनुभयो ।

उक्त अभियान अन्र्तगत स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको थियो । ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा समेत डेङ्गीको सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि कार्यालयले घर वरिपरिका खाल्डाखुल्डीमा जमेका पानीलाई विस्थापित गर्ने र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको हो ।

यसले सर्वसाधारणलाई जनचेचना फैलिन सहयोग गर्ने भएकाले कार्यालयले सुरुआतमा अभियान चलाएको फोकल पर्सन शिवाकोटीले बताउनुभयो । डेङ्गीको सङ्क्रमण फैलिएको धेरै लामो समय नभएकाले लामखुट्टेको टोकाइबाट बच्ने बारे जनचेतना फैलाउन र बुझाउन समेत केही समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।