सप्तकोशीमा बढ्यो पानीको बहाव : ब्यारेजका २२ ढोका खोलियाे
सुनसरी, १५ भदौ । लगातारको वर्षासँगै सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ढोकाहरू खुल्ला गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज साँझ ६:०० बजे गरिएको मापनमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक रहेको थियो, जतिबेला २१ वटा ढोका खोलिएका थिए । तर, त्यसको केही समयपछि बहाव बढेर एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघ्नेबित्तिकै खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । हाल बहाव दुई लाख क्युसेक नजिक पुग्न लागेकाले रातो बत्ती बालेर सर्वसाधारणलाई सचेत गराइएको छ ।
हालसम्म डुबानको प्रत्यक्ष जोखिम नदेखिए पनि जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले एक सूचना जारी गर्दै नदीमा माछा मार्न, दाउरा सङ्कलन गर्न र अनावश्यक रूपमा नदी किनारमा नजान सर्वसाधारणलाई अपिल गरेको छ ।
