बाढीपहिरोले देशका मुख्य राजमार्गहरू तहसनहस: पृथ्वी, अरनिको र मेची सडक ठप्प
काठमाडौँ, १५ भदौ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यातायात सेवा नराम्ररी प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन् भने केहीमा जोखिमका कारण आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
काठमाडौँको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गको धादिङ खण्ड अहिले सबैभन्दा बढी प्रभावित छ। बेनीघाट रोराङ–७ कृष्णभिर र गजुरी–२ परेवाभिरमा भदौ १४ गतेदेखि नै पहिरो खस्ने क्रम जारी रहेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पनि पहिरोले यातायात ठप्प पारेको छ।
रसुवामा बाढीले ठुलो क्षति पुर्याएपछि उत्तरगयास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेसी र पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा बन्द रहेका छन्।
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। झापा र ताप्लेजुङ जोड्ने यो सडक बन्द भएपछि हाल सवारी साधनहरूलाई वैकल्पिक मार्गबाट पठाइने प्रयास भइरहेको छ।
उता कर्णाली प्रदेशमा मुगुको गमगढी जोड्ने नाग्म–मुगु सडक खण्डको झ्यारीखोला र टोक्ला क्षेत्रमा भीषण पहिरो खसेकाले यो सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले केही संवेदनशील सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाएको छ:
वि.पि. राजमार्ग: काभ्रेको खुर्कोट–नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
कान्ति लोकपथ: हेटौँडा–ललितपुर खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म यात्रा गर्न निषेध गरिएको छ।
टोखा–छहरे सडक: नुवाकोटको घट्टेखोला खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।