भोटेकोशी बाढी : चितवनमा १९९ बेवारिसे शवको व्यवस्थापन, डीएनए नमुना सुरक्षित
चितवन, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर ल्याएका शवहरूमध्ये चितवनमा फेला परेका पहिचान नखुलेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाट क्षेत्रको जङ्गलमा ती शवहरूको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवहरूमध्ये १२ वटाको मात्रै सफलतापूर्वक सनाखत भएको छ । पहिचान हुन नसकेका १९९ वटा शवको भने भविष्यमा पहिचान खुल्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै ‘डीएनए’ नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको छ ।
“हामीले प्रत्येक शवलाई विशेष सङ्केत चिह्न राखेर व्यवस्थापन गरेका छौँ,” एसपी पौडेलले भन्नुभयो, “भविष्यमा बेपत्ता भएका आफन्तको डीएनएसँग मेल खाएमा सोही सङ्केतका आधारमा परिवारलाई जानकारी दिन र पहिचान गर्न सहज हुनेछ ।”
चितवनका विभिन्न नदी तटीय क्षेत्रमा हालसम्म कुल २७२ वटा शव र मानव अवशेष फेला परेका छन् । जसमा पुरुष : ११० जना, महिला : ६२ जना, बालक : ७ जना, बालिका : ६ जना रहेका छन् ।
मानव अवशेष : ८७ वटा ( अङ्गहरू) सनाखत भएका १२ वटा शवहरू कानुनी प्रक्रिया र शव परीक्षणपछि सम्बन्धित परिवारलाई जिम्मा लगाइएको छ ।
नारायणी र त्रिशूली नदी किनारमा अझै पनि शवहरू फेला पर्ने क्रम जारी रहेकाले सुरक्षा निकायहरूलाई उच्च तयारीमा राखिएको छ । बेपत्ताहरूको खोजी, शव सङ्कलन र व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली अहोरात्र खटिएको प्रहरीले जनाएको छ ।