लारक टापुमा अमेरिकी हमलाको बदलामा जोर्डनस्थित सैन्य आधारमा इरानको आक्रमण

 

तेहरान/वासिङ्टन (एजेन्सी) ।  इरान र अमेरिकाबीच मध्यपूर्वमा तनावले नयाँ मोड लिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ।

आफ्नो लारक टापुमा अमेरिकी सेनाले गरेको बमबारीको बदला लिन यो आक्रमण गरिएको इरानले जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यम आईआरआइबी का अनुसार, लारक टापुमा अमेरिकाले गरेकाे आक्रमणमा परी कैयौँ इरानी लडाकु र सर्वसाधारणको मृत्यु हुनुका साथै केही घाइते भएका छन्।

अमेरिकाको दाबी: ‘आक्रमण प्रतिरक्षाका लागि’
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्ट्रकम) ले इरानको लारक टापुमा रहेका दुईवटा रकेट लन्चरहरूलाई निशाना बनाएको पुष्टि गरेको छ। सेन्ट्रकमका अनुसार, इरानी सेनाले हर्मुज जलसन्धिमा ‘नाभल माइन’ (समुद्री विस्फोटक) बिछ्याउने तयारी गरिरहेको र यसले विश्व व्यापारिक मार्गमा “तत्काल खतरा” पैदा गरेको थियो।

सामाजिक सञ्जाल ‘एक्स’ मा एक विज्ञप्ति जारी गर्दै सेन्ट्रकमले भनेको छ, “इरानले नै खतरा उत्पन्न गरेको थियो र अमेरिकी सेनाले नागरिक नाविक, व्यापारिक जहाज र विश्वव्यापी वाणिज्यको स्वतन्त्र प्रवाहको सुरक्षाका लागि ती खतराहरूलाई नष्ट गरेको हो।” अमेरिकाले आफ्नो कारबाहीलाई ‘सीमित र सटीक’ भन्दै यसलाई इरानले भनेजस्तो आक्रामकता नभई प्रतिरक्षात्मक कदम भएको दाबी गरेको छ।

जोर्डनद्वारा क्षेप्यास्त्र विफल पारेको दाबी
यसैबीच, जोर्डनको सैन्य स्रोतलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चारमाध्यमले सोमबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक बीचैमा खसालेको (इन्टरसेप्ट गरेको) जनाएको छ। ती क्षेप्यास्त्रहरू इरानले अमेरिकी सैन्य अखडालाई लक्षित गरी प्रहार गरेको बुझिएको छ।

तनाव थप बढ्ने संकेत
हर्मुज जलसन्धि विश्वको तेल आपूर्तिको प्रमुख नाका मानिन्छ। त्यहाँ इरानको सक्रियता बढेपछि अमेरिकाले कडा कदम चालेको हो। लारक टापुमा भएको क्षति र जोर्डनमा भएको जवाफी हमलाले यो क्षेत्रमा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने भन्दै सुरक्षा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

इरानले अमेरिकी हमलालाई ‘नाङ्गो हस्तक्षेप’ भन्दै थप कडा जवाफ दिने चेतावनी दिएको छ भने वासिङ्टनले आफ्ना फौज र अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताएको छ।