डेङ्गी सङ्क्रमण फैलन नदिन सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

काठमाडौँ, ९ कात्तिक । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ ।

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि प्रत्येक शुक्रबार मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिसक्नुभएका मन्त्री खड्काले आज पनि उक्त कार्यलाई निरन्तरता दिँदै कर्मचारीलाई हौसलासमेत प्रदान गर्नुभयो ।

सरसफाइ अभियानका क्रममा मन्त्री खड्काले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै कार्यालयलाई सफा राख्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वस्थ हुन सरसफाइले विशेष महत्व दिने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।