बाढी प्रभावितका लागि ऊर्जा उद्यमीको हातेमालो : इप्पानद्वारा १३ करोड सहयोग हस्तान्तरण
काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १३ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ।
इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूले सामूहिक र व्यक्तिगत रूपमा सङ्कलन गरेको १३ करोड एक लाख रुपैयाँ बराबरको चेक सरकारलाई हस्तान्तरण गरिएको हो।
मङ्गलवार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभयो।
सहयोग बुझ्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका जलविद्युत् आयोजनाहरूले ठुलो प्राकृतिक जोखिम सामना गरिरहेको बताउनुभयो। “भौगोलिक विकटता र जलवायु परिवर्तनको जोखिमका कारण हाम्रा आयोजनाहरू प्रभावित भइरहेका छन्, अबको पुनर्निर्माणमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो। उहाँले सङ्कटको यस घडीमा निजी क्षेत्रले राज्यलाई पुर्याएको यो सहयोगले आपसी एकताको सन्देश दिएको उल्लेख गर्नुभयो।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले भोटेकोशी बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको जानकारी दिनुभयो। उहाँले ऊर्जा उद्यमीहरू आफैँ विपद्को मारमा परे पनि मानवीय संवेदनालाई सर्वोपरी ठानी पीडितको घाउमा मलम लगाउन सहयोग जुटाइएको बताउनुभयो। ऊर्जा मन्त्रालयकी सचिव सरिता दवाडीले उद्यमीहरूको यस कार्यलाई ‘सह्रानीय’ भन्दै प्रशंसा गर्नुभयो।
राहत कोषमा रकम जम्मा गर्नेहरूमध्ये मोहनविक्रम कार्की समूहले सबैभन्दा बढी १ करोड ६५ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, हिमप्रसाद पाठक समूहले १ करोड ५१ लाख र पुष्पज्योति ढुङ्गाना समूहले १ करोड ७ लाख ७७ हजार ७७५ रुपैयाँ हस्तान्तरण गरेका छन्।
अन्य उल्लेख्य सहयोग गर्नेहरूमा:
बटु लामिछाने तथा गणेश कार्की समूह: ८७ लाख ७७ हजार ७७७ रुपैयाँ, इशा श्रेष्ठ समूह: ६५ लाख रुपैयाँ, बुटवल पावर कम्पनी र समूह: ५१ लाख ४१ हजार ९८६ रुपैयाँ, उत्तमब्लोन लामा समूह: ५१ लाख रुपैयाँ, माउन्टेन इनर्जी नेपाल: ५१ लाख रुपैयाँ, सुमन कर्माचार्य समूह र अजयबल्लभ पन्त समूह: जनही ५० लाख रुपैयाँ यसका साथै साङ्ग्रिला ऊर्जा, घलेम्द्री हाइड्रो, कालङ्गा ग्रुप, न्यादी ग्रुप, बिजी ग्रुप लगायत ५० भन्दा बढी हाइड्रोपावर कम्पनी र उद्यमीहरूले ५० हजारदेखि २५ लाख रुपैयाँसम्म योगदान गरेका छन्। इप्पान दैवीप्रकोप उद्धार कोषबाट ६ लाख ३२ हजार २३ रुपैयाँ छुट्टै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
भोटेकोशी बाढीले पुर्याएको क्षतिको पुनरुत्थानका लागि ऊर्जा उद्यमीहरूको यो ठुलो आर्थिक योगदानले राहत र पुनर्निर्माण कार्यमा महत्त्वपूर्ण बल पुग्ने अपेक्षा गरिएको छ।