चीनले भन्याे हिमचट्टान भत्किने जोखिम कायमै, अझै टरेको छैन ठुलो बाढीको खतरा

काठमाडौँ, १६ भदौ । नेपालको छोचेन खोला क्षेत्रमा बाढीका कारण बनेको ‘इम्प्याक्ट क्रेटर’ (प्रभाव क्षेत्र वा ठुलो खाडल) वरपरका हिमचट्टानहरू अझै पनि भत्किने उच्च जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार ती हिमखण्डहरू भत्किएमा तल्लो तटीय क्षेत्रमा पुनः ठुलो बाढीको खतरा निम्तिन सक्ने देखिएको हो।

चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ (केरुङ) काउन्टीमा आएको विनाशकारी लेदोसहितको बाढीपछि चिनियाँ जलस्रोत मन्त्रालयले यस क्षेत्रका सम्भावित जोखिमहरूको निरन्तर मूल्याङ्कन गरिरहेको छ। मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा रहेका १४ वटा हिमतालहरूको अवस्था भने हाल स्थिर छ। भू-उपग्रह (रिमोट सेन्सिङ) बाट खिचिएका तस्वीरहरूको तुलनात्मक विश्लेषण गर्दा ती तालहरूको जलसतहमा कुनै उल्लेखनीय परिवर्तन नदेखिएको मन्त्रालयले उल्लेख गरेको छ।

मंगलबार बिहान ५:४५ बजे (नेपाली समय) खिचिएको ड्रोन तस्वीरका आधारमा छोचेन खोलाको क्रेटरमा जम्मा भएको पानीको ठुलो हिस्सा निकास भइसकेको छ। यसका कारण अहिले तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य अवस्थामा फर्किएको देखिएको छ।

नदीको बहाव सामान्य देखिए पनि जोखिम भने पूर्ण रूपमा टरिनसकेको चिनियाँ प्राविधिकहरूको निष्कर्ष छ। रिपोर्टअनुसार क्रेटर वरपर रहेका हिमनदी र हिमखण्डहरू अझै पनि अस्थिर अवस्थामा छन्। ती हिमचट्टानहरू जुनसुकै बेला भत्किएर नदी थुनिने वा पुनः आकस्मिक बाढी आउन सक्ने सम्भावना कायमै रहेको चेतावनी दिइएको छ।

गत भदौ १० गतेको भीषण बाढीले रसुवा र आसपासका जिल्लामा ठुलो जनधनको क्षति पुर्‍याएको सन्दर्भमा चीनले सार्वजनिक गरेको यो नयाँ तथ्यले तटीय क्षेत्रका बासिन्दा र सुरक्षा निकायलाई अझै केही समय उच्च सतर्कता अपनाउनुपर्ने सङ्केत गरेको छ।