दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

दाङ, १७ पुस । माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।

यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ ।

“माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो । पातको दुनाटपरी गास्ने काम गरिरहेका छाैँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउने/पिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ”, विपनाले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।” पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

थारु समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताउनुभयो । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उहाँले जानकारी दिनुभयो ।