पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन

ताप्लेजुङ, ८ माघ । पाथीभरास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको हाे । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।

भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, सम्वर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएकाे छ ।