त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक शव निकालियो, खोजी कार्य तीव्र

रसुवा, १९ भदौ । रसुवाको भोटेकोशी बाढीका कारण थुनिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ भित्रबाट उद्धार टोलीले एक व्यक्तिको शव निकालेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको विशेष टोलीले शुक्रबार दिउँसो उक्त शव बाहिर निकालेको हो।

सुरुङभित्रको जटिल उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै चिनियाँ र अमेरिकी सुरुङ उद्धार विशेषज्ञहरू समेत परिचालित छन्। बाढीले बगाएर ल्याएको लेदो र ढुङ्गाले थुनिएको सुरुङ छिचोल्न यो विशेष टोली विगत केही दिनदेखि अहोरात्र खटिएको छ।

यसैबिच, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बाढी प्रभावित क्षेत्रमा मौसम पूर्ण रूपमा सफा नभए पनि राहत वितरण कार्य नरोकिएको जानकारी दिनुभयो। “आकाशमा बाक्लो बादल लागेका कारण उडानमा केही चुनौती भए पनि हेलिकप्टरमार्फत खाद्यान्न र अत्यावश्यक सामग्री प्रभावित बस्तीहरूमा पुर्‍याउने काम तीव्रताका साथ भइरहेको छ,” उहाँले भन्नुभयो।

बाढीले सडक र पुलहरू ध्वस्त पारेपछि रसुवाका धेरै क्षेत्रमा हवाई मार्गबाट मात्रै राहत पुर्‍याउन सम्भव देखिएको छ। सुरुङभित्र अझै अरू कर्मचारीहरू हुन सक्ने आशङ्कामा सुरक्षा निकाय र प्राविधिकहरूको टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *