काठमाडौँ महानगरको स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढ्दो: एकै वर्ष १ लाख ५६ हजारले लिए ओपिडी सेवा

काठमाडौँ, भदौ १९  । काठमाडौँ महानगरपालिकाले प्रवाह गर्ने स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको तथ्याङ्कले देखाएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा प्रतिवेदन अनुसार, गत वर्ष १ लाख ५६ हजार ६९६ जनाले ओपिडी (OPD) मार्फत स्वास्थ्य सेवा लिएका छन् ।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा करिब ५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ९९ हजार ९७ जना र आर्थिक वर्ष २०८०/०८१ मा ५५ हजार ८६६ जनाले मात्र यो सेवा लिएका थिए। ओपिडी सेवाका अतिरिक्त यस वर्ष महिला स्वास्थ्य स्वयंसेविकाहरूले घरदैलोमा पुगेर १ लाख ४४ हजार २१६ जनालाई प्रत्यक्ष स्वास्थ्य परामर्श र सेवा प्रदान गरेका छन्।

नसर्ने रोगको चुनौती बढ्दो
स्वास्थ्य विभागको तथ्याङ्कले सहरिया जीवनशैलीका कारण नसर्ने खालका दीर्घरोगहरूको समस्या चुनौतीपूर्ण बन्दै गएको देखाएको छ। गत वर्ष सेवा लिनेमध्ये ४० हजार ३८६ जना उच्च रक्तचाप र २२ हजार ५०१ जना मधुमेहका बिरामी थिए। यस्तै, दमका ४ हजार ४०७ जना, मिर्गौला रोगका १ हजार २५७ जना र मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका १ हजार २४ जनाले महानगरका केन्द्रहरूबाट उपचार लिएका छन्। मानसिक स्वास्थ्य अन्तर्गत एन्जाइटी र आत्महानीको सोच भएका व्यक्तिहरूलाई विशेष परामर्श प्रदान गरिएको छ।

सरुवा रोगतर्फ डेंगुको संक्रमणमा उल्लेख्य कमी आएको छ। गत वर्ष जम्मा ११२ जनामा डेंगु देखियो भने क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत ७६९ नयाँ बिरामी पहिचान गरी ९६ प्रतिशत उपचार सफलता दर कायम गरिएको छ।

विस्तारित सेवा र पूर्वाधार
महानगरले हाल ३५ वटा सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ। जसमा खोप, सुरक्षित मातृत्व, पोषण, प्रयोगशाला, फिजियोथेरापी र अकुपञ्चर जस्ता सेवाहरू उपलब्ध छन्। महानगरका १० वटा केन्द्रमा स्वास्थ्य बिमा र २२ वटामा क्षयरोग नियन्त्रण कार्यक्रम सञ्चालित छन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महानगरको स्वास्थ्य सेवालाई अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले आगामी दिनमा निरोगात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवालाई थप प्राथमिकता दिइने उल्लेख गर्नुभयो। यस्तै, जनस्वास्थ्य प्रशासक सागर घिमिरेले महानगरको स्वास्थ्य सेवा सुदृढ हुँदा ठूला अस्पतालहरूमा बिरामीको चाप कम हुँदै गएको जानकारी दिनुभयो ।

विशेष लक्षित कार्यक्रम

  • जेष्ठ नागरिक: ७० वर्ष पुगेका ४ हजार ३६२ जनाको घरदैलोमै स्वास्थ्य परीक्षण र ३ हजार जनालाई न्युमोनिया विरुद्धको खोप।

  • विद्यार्थी: १२ हजार ५२७ विद्यार्थीको आँखा जाँच र १ हजार ३ जनालाई निःशुल्क चश्मा वितरण। १४ हजार विद्यार्थीको मुटु परीक्षण।

  • महिला स्वास्थ्य: वीर अस्पतालसँगको सहकार्यमा २ हजार ९७५ महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण।

  • एम्बुलेन्स सेवा: ६ हजार ९२२ जनालाई निःशुल्क सेवा।

  • रक्तदान: १० हजार ६९५ पिन्ट रगत संकलन र २ हजार ९४१ पिन्ट निःशुल्क उपलब्ध।

वित्तीय र भौतिक प्रगति
आर्थिक वर्ष २०८२/०८३ मा महानगरको स्वास्थ्य क्षेत्रतर्फ कुल भौतिक प्रगति ७८.९४ प्रतिशत र वित्तीय प्रगति ५६.४१ प्रतिशत रहेको छ। आन्तरिक स्रोततर्फ विनियोजित ८३ करोड ५४ लाख रुपैयाँमध्ये ४२ करोड ९२ लाख खर्च भएको छ भने संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानको ठूलो हिस्सा परिचालन गरिएको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले जानकारी दिनुभयो।

महानगरको यो बढ्दो सक्रियताले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्दै सहरको जनस्वास्थ्य अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ।