सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या, भरुवा बन्दुकसहित आरोपी पक्राउ

सङ्खुवासभा, १९ भदौ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ मा एक शिक्षकको भरुवा बन्दुक प्रहार गरी हत्या भएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक स्थानीय युवालाई हतियारसहित पक्राउ गरेको छ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार साँझ गोली हानी हत्या गरिएको हो। सिलिचोङ गाउँपालिका–५ याफु घर भएका राई सोही विद्यालयको आवासमा बस्दै आएका थिए।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७:०० बजे खाना खाएपछि भाँडा धुनका लागि राई विद्यालय भवन बाहिर निस्किएका थिए। सोही समयमा अचानक बन्दुक पड्किएको आवाज आएपछि विद्यालयमै रहेकी अर्की शिक्षिका टिकामाया राई बाहिर निस्किएकी थिइन्। उनले नरकुबिरलाई रक्ताम्मे अवस्थामा भुईँमा ढलेको फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा गोली लागेको फेला पारेको थियो।
घटनापछि फरार रहेका व्यक्तिको खोजीमा जुटेको प्रहरीले शुक्रबार बिहान ११:०० बजे मकालु–१ सिउँडीबारीबाट ३३ वर्षीय पत्न कुलुङ राईलाई नियन्त्रणमा लिएको छ। उनको साथबाट हत्यामा प्रयोग गरिएको भरुवा बन्दुक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

पक्राउ परेका राईलाई हिरासतमा राखेर हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।