रामपुर महोत्सवमा लोक संस्कृति संरक्षण, दोहोरी प्रतियोगिताबाट प्रतिभा प्रस्फुटन
पाल्पा,२४ माघ । पाल्पाकाे रामपुरमा आयोजित महोत्सव तथा व्यापार मेलाले कला, संस्कृति संरक्षणमा टेवा पुर्याएको छ।
कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवले लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको हो।
माघ १५ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने ‘चौँथो रामपुर महोत्सव तथा व्यापार मेला’मा आयोजित लोकदोहोरी प्रतियोगिताले व्यक्तिभित्र लुकेर रहेका कला, संस्कृतिलाई उजागर गरेको स्थानीयले बताएका छन्।
प्रतियोगितामा नमस्ते होटल पाल्पाको समूह प्रथम भएको छ। अन्तिम प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटलले नगद रु ५१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ। नमस्ते होटलको तर्फबाट दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतियोगितामा सहभागी भएर उपाधि हात पारेका हुन्।
उपविजेता बनेको राष्ट्रिय लोक तथा गीत प्रतिष्ठानले नगद रु ३१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ। यस समूहमा सुमन थापा र सीमा सारुले प्रतिनिधित्व गरेका थिए। पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अङ्क प्राप्त गर्दै तृतीय स्थान हासिल गर्दै प्रतिसमूह नगद रु २१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेका छन्। पृथ्वी टेलिभिजनको तर्फबाट तोयानाथ विक र विपना खनाल तथा श्रीनगर होटलबाट विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गरेका थिए। प्रतियोगितामा आठ समूहको सहभागिता थियो।
राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान स्याङ्जाका सुदिप सापकोटा उत्कृष्ट गायक र चापाकोटका मनिषा पोखरेल उत्कृष्ट गायिका घोषित भएका छन्। लोकदोहोरीका नयाँ प्रतिभाहरूको खोजी, प्रतिभा प्रस्फुटन र मौलिकताको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए।
“आधुनिकतासँगै युवा पुस्तामा लोकदोहोरीको महत्व घट्दै जाँदा यसको मौलिकता हराउँदै जान थालेकाले संरक्षण र प्रवर्द्धन गर्न यहाँ प्रतियोगिताको आयोजना गरिएको हो। यस कार्यक्रमबाट कला, संस्कृतिमा रुचि भएका नवकलाकार उत्पादन हुनुभएको छ”, उनले भने।
यस्ता प्रतियोगितात्मक कार्यक्रमले लोकदोहोरी गीतको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष ढकालले विश्वास व्यक्त गरे।