प्रमुख नहुँदा लमजुङ मालपोत कार्यालयको काम ठप्प, कर्मचारीले तलब पाएनन्
लमजुङ, २५ माघ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालय लमजुङमा कार्यालय प्रमुख नहुँदा कामकाज ठप्प भएको छ ।
कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब नपाएको र सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आए पनि पुस १४ गते सरुवा भएर गएपछि कार्यालय प्रमुखको पद रिक्त छ । त्यसपछि पोखराबाट रामचन्द्र अधिकारीलाई प्रमुखका रूपमा तोकिए पनि उनी हालसम्म हाजिर हुन आएका छैनन् ।
कार्यालय प्रमुख नहुँदा कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सकेका छैनन् भने नामसारी, घरजग्गासम्बन्धी काम र आर्थिक कारोबारलगायतका काम रोकिएका छन् । निमित्त कार्यालय प्रमुख पूर्णबहादुर गुरूङले कार्यालय प्रमुख नआउँदा सेवाग्राहीलाई समस्या भएको बताए । उनले प्रमुखलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए ।
निमित्त कार्यालय प्रमुख तोकिए पनि गुरूङलाई आर्थिक एवं महत्त्वपूर्ण कार्य गर्ने अधिकार नभएकाले समस्या भइरहेको छ । २६ जनाको दरबन्दी रहेको कार्यालयमा हाल ८ जना मात्रै कर्मचारी कार्यरत छन् ।
गुरूङका अनुसार यसअघि पनि कार्यालय प्रमुख नहुँदा असारदेखि मङ्सिरसम्म आफूले निमित्त कार्यालय प्रमुख भएर जिम्मेवारी सम्हालेको थिएँ । तर अहिले उपसचिव अधिकारीलाई नै प्रमुख तोकेर खटाएकाले आफूलाई सबै अधिकार नभएको उनको भनाइ छ ।
मालपोत कार्यालयमा एक वर्षदेखि पटकपटक कार्यालय प्रमुख फेरिँदै आएका छन् । कार्यालयमा प्रमुख एक महिनाभन्दा बढी नटिक्दा सेवाग्राही समस्यामा परेका छन् । कार्यालयमा कार्यालय प्रमुखसँगै खरिदार ५ जना, कम्युटर अपरेक्टर एक जना, लेखापाल एक जना, तानासु (टाइसिन) एक जना, कार्यालय सहयोगी एक जनाको पद रिक्त छ । दरबन्दीअनुसार कर्मचारी कम हुँदा सेवाप्रवाहमा समस्या भएको गुरूङले बताए ।