साइबर अपराधमा महिलाको उजुरी हदम्याद बढ्ने
काठमाडौं, २५ माघ । महिलामाथि हुने साइबर अपराधमा उजुरी दिने हदम्याद बढाउन नेपाल कानुन आयोगले नयाँ प्रस्ताव अघि सारेको छ ।
हाल कायम रहेको ३५ दिने हदम्यादलाई बढाएर ९० दिन पुर्याउने गरी विधेयक तयार पारिएको हो ।
आयोगले यौनजन्य हिंसाविरुद्धका केही नेपाल ऐन संशोधन विधेयक तयार पारी कानुन मन्त्रालयमा पठाइसकेको छ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ७४ मा रहेको हदम्याद सम्बन्धी व्यवस्थालाई संशोधन गर्न लागिएको हो ।
प्रस्तावित विधेयक अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने वा अपमान गर्ने कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
हाल विद्युतीय कारोबार ऐनमा कसूर भएको थाहा पाएको मितिले ३५ दिनभित्र उजुरी दिनुपर्ने व्यवस्था छ । तर महिला विरुद्धको साइबर अपराधमा भने यो समयसीमा अपर्याप्त भएको ठानी ९० दिन पुर्याउन लागिएको आयोगका अधिकारीहरूले बताएका छन् ।
नयाँ व्यवस्था लागू भएपछि महिलाहरूले आफूमाथि भएको साइबर अपराधको उजुरी दिन थप समय पाउने छन् । यसले महिला विरुद्ध हुने साइबर अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।