खानेपानी मन्त्रालयमा आगलागी, ५० लाख बराबरको क्षति

काठमाडौं, २६ माघ । खानेपानी मन्त्रालयमा आज बिहान भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीका कारण दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट र क्लोज सर्किट क्यामेराको मनिटर लगायतका सामग्री जलेर नष्ट भएका छन्।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाख रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, क्षतिको वास्तविक विवरण आउन बाँकी छ। आगलागीको कारण पनि खुल्न सकेको छैन र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातहरू भने सुरक्षित रहेका छन्।

आगलागीका कारण मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति पुगेको छ। खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि रहेको छ।