प्रधानमन्त्री र मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीको विरोध जारी, सीमा र सुकुमवासी मुद्दामा जवाफ माग

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग गर्दै पुन: विरोध जनाएको छ। बैठक सुरु हुनेबित्तिकै सो पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिनुभएको थियो।

सदनलाई सम्बोधन गर्दै अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभामा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्री र विभागीय मन्त्रीहरू सदनमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने माग गर्नुभयो।
विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहले हाल गृह र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालिरहेको सन्दर्भमा सीमा सुरक्षा र सुकुमवासी व्यवस्थापन जस्ता जटिल विषयमा सरकारले सदनमा जवाफ दिनुपर्ने उहाँको भनाइ थियो। “प्रधानमन्त्रीले नै महत्वपूर्ण मन्त्रालयहरू सम्हालिरहनुभएको छ, तर यी गम्भीर मुद्दामा सरकारले सदनलाई किन आश्वस्त पार्न सक्दैन?” अध्यक्ष राईले प्रश्न गर्नुभयो।

जवाफमा सभामुख अर्यालले अध्यक्ष राईले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। उहाँले सरकारलाई सदनप्रति जवाफदेही बनाउन पहल गर्ने आश्वासन दिँदै सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो।
सरकारको जवाफदेहिता खोज्दै श्रम संस्कृति पार्टीले बुधबारको बैठकमा पनि प्लेकार्ड प्रदर्शन गरी विरोध जनाएको थियो। मन्त्रीहरूको अनुपस्थितिका कारण संसद्को कामकारबाही प्रभावित भएको भन्दै पछिल्लो समय सदनमा निरन्तर प्रश्न उठ्ने गरेको छ।