अलराउण्डर दिपेन्द्रसिंह ऐरी गृहनगरमा सम्मानित, ५१ हजारसहित दोसल्ला प्रदान
कञ्चनपुर,१३ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीलाई गृहनगर कञ्चनपुरमा सम्मान गरिएको छ।
उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले आयोजना गरेको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको अवसरमा उनलाई सम्मानित गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ऐरीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरे। त्यसअघि ऐरीलाई महेन्द्रनगर बजारमा रथमा परिक्रमा गराइएको थियो।
मन्त्री भण्डारीले खेलका माध्यमबाट देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याएको भन्दै ऐरीलाई थप सफलताको शुभकामना दिए।
ऐरीले सन् २०२३ मा एसियन गेम्समा मङ्गोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका थिए। साथै, उनले एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान पनि बनाएका छन्।