पाथीभरा केबलकार विवाद: गृह मन्त्रालयद्वारा वार्ता आह्वान
काठमाडौं,१३ फागुन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।
गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरेका छन्।
उनले निर्माण कार्य स्थगित गर्ने र आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि वार्तामा आउन अपिल गरेका छन्।
सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो। दुई पटकको छलफलले टुङ्गो लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन। ‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ।