वसन्तयामको धौलागिरि आरोहण सुरु: पहिलो दिन नौजनाले चुचुरो टेके
काठमाडौँ, वैशाख ६ । विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) को चालु वसन्तकालीन आरोहण सुरु भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा अवस्थित यस हिमालमा शनिबार एक टोलीले सफल आरोहण गरेसँगै यस सिजनको आरोहणको औपचारिक सुरुवात भएको हो ।
‘इमेजिन नेपाल’ कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपाली गरी नौजनाले शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको सफल आरोहण गरेको सो संस्थाले जनाएको छ । आरोहण टोलीमा चीनका लिउ होङ, लिउ यिशी र वाङ झोङ तथा स्विट्जरल्याण्डकी क्रिस्टिन भोगोन्डी रहेका छन् । उनीहरूलाई नेपाली आरोहीहरू फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पाले सहयोग गरेका थिए ।
आरोहण टोलीको नेतृत्व गरेका फुर ग्याल्जेन शेर्पाका अनुसार शेर्पाहरूको टोलीले हिउँमा डोरी (रोप फिक्सिङ) टाँगेर बाटो तयार पारेपछि आरोहीहरू चुचुरोमा पुग्न सफल भएका हुन् । सफल आरोहणपश्चात् टोली सकुशल तेस्रो आधार शिविरमा फर्किएको छ ।
पर्यटन विभागको तथ्याङ्क अनुसार यस वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुरुष गरी कुल २८ जनाले अनुमति लिएका छन् । विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेका अनुसार आरोहण अनुमति प्रदान गरेबापत सरकारले १ करोड २५ लाख ६० हजार ८५० रुपैयाँ सलामी दस्तुर (रोयल्टी) संकलन गरेको छ । गत शरद्याममा यस हिमालका लागि ३६ जनाले अनुमति लिएका थिए ।
परिवर्तनशील मौसम र प्राविधिक कठिनाइका कारण धौलागिरि आरोहणलाई अन्य हिमालको तुलनामा बढी जोखिमपूर्ण र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरसहितको टोलीले पहिलोपटक यस हिमालको सफल आरोहण गरेको थियो । सो ऐतिहासिक आरोहणमा डिम्बर्गरसँगै पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट तथा नेपाली आरोही निमा दोर्जे र नवाङ दोर्जे सहभागी थिए ।