कञ्चनपुरको नागेश्वर सामुदायिक वन : प्रचुर सम्भावना भए पनि योजना अभावमा ओझेलमा

काठमाडौँ, वैशाख ६ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन प्राकृतिक सौन्दर्य र जैविक विविधताले सम्पन्न भए तापनि स्पष्ट योजना र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यस क्षेत्रमा पर्या–पर्यटनको उच्च सम्भावना देखिएको भए पनि आवश्यक लगानी र प्रचारप्रसार हुन सकेको छैन ।

करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा साल, सिसौ, खयर र असनाजस्ता बहुमूल्य वनस्पतिहरू पाइन्छन् । जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण मानिने यस वन क्षेत्रमा निलगाई, चित्तल, मयूर, वनकुखुरा र बाँदरजस्ता वन्यजन्तुको सुरक्षित बासस्थान रहेको छ । स्थानीय उपभोक्ताका अनुसार यस क्षेत्रमा कहिलेकाहीँ पाटेबाघ र चितुवासमेत देखा पर्ने गरेका छन्, जसले यसको प्राकृतिक महत्वलाई थप उजागर गरेको छ ।

वनको समथर भूभाग, हरियाली मैदान र नजिकै बग्ने स्याली नदीको सिमसार क्षेत्रले गर्दा यसलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना छ । सामुदायिक वनका पूर्वअध्यक्ष जयबहादुर ऐरका अनुसार प्रकृति, वन्यजन्तु र स्थानीय संस्कृतिको संगम रहेको यो क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न सके शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय केन्द्र बन्न सक्छ ।

यहाँ बसोबास गर्ने राना तथा चौधरी थारू समुदायको मौलिक जीवनशैली, परम्परागत खानपान र सांस्कृतिक नृत्यले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनका लागि पनि आकर्षक बनाएको छ । स्थानीय धनबहादुर चौधरीले महेन्द्र राजमार्गसँगै जोडिएको सहज पहुँच भए तापनि व्यवस्थित प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल र भ्यू टावरजस्ता आधारभूत संरचनाको अभावमा पर्यटक आकर्षित गर्न नसकिएको बताउनुभयो ।

संरक्षणकर्मी कृष्णबहादुर ऐरले यस क्षेत्रमा ‘बर्ड वाचिङ टावर’, सिमसार व्यवस्थापन र थारू सांस्कृतिक सङ्ग्रहालय निर्माण गरी ‘शुक्लाफाँटा उद्यान’का रूपमा विकास गर्न सुझाव दिनुभएको छ । यस्तै, सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले नागेश्वर वनलाई नजिकैको हिरापुर कृष्णसार संरक्षण क्षेत्र र तारा तालसँग जोडेर ‘एकीकृत पर्यटन सर्किट’ निर्माण गर्न सकिने प्रस्ताव अघि सार्नुभएको छ । यस्तो विकासले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै सामुदायिक वनको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

नगरपालिकाको वडा नं ६ का अध्यक्ष दानबहादुर ऐरले यस वनको सुन्दरता र सम्भावनालाई उजागर गर्न नगरपालिकाले समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच सहकार्य भएमा यस क्षेत्रलाई छिट्टै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।